११ फागुन ०७९, काठमाडौं । ट्राफिकले काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाए कारवाही गर्ने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा चल्ने सवारीसाधनको गति सीमा तोकेर बढी गतिमा चलाए कारवाही गर्ने जनाएको हो ।
ट्राफिक कार्यालयले कलंकी–कोटेश्वर र कोटेश्वर–भक्तपुर सडकखण्डमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर सवारी गति तोकिदिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था ख्याल गरेर नियम कार्यान्वयनमा ल्याएको बताउँदै ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढीमा गतिमा सवारी चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने बताएको छ ।