उपत्यकाका जिल्ला प्रशासन कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द

२४ साउन ०७७, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)का जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ ।

तीन जिल्लाका प्रजिअ साथै सुरक्षा अधिकारी सम्मिलित शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक सतर्कता अपनाउँदा–अपनाउँदै पनि जोखिम बढेसँंगै शान्तिसुरक्षा, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् व्यवस्थापन बाहेक अन्य काम स्थगित गरिएको जानकारी दिए ।

कार्यालयमा अत्यावश्यक सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन साथै मास्क, भौतिकदुरी, सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वास्थ्य सतर्कता नअपनाउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाही हुने बताए ।

यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृह मन्त्रालयद्वारा जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ अनुसार आवतजावत गर्दा, कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको दूरी कायम राख्न, आवतजावत गर्दा तथा कार्यस्थलमा रहँदा मास्क र सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको जानकारी दिए ।