देवराम यादव । राजविराज २८ कार्तिक०७५, राजविराज । उदाउँदो सुर्यलाई अर्घ दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ ।
सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका ग्रामीण भेगका पोखरी तथा जलासयहरुमा विशेष महत्वकासाथ छठ मनाईएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुर सहितका स्थानहरुबाट छठ मनाउन सयौंको संख्यामा ब्रतालुहरु आएका छन् ।
यस्तै राजविराजस्थित भगवती, वैष्णवी काली, तुरुन्तीलगायतका पोखरीहरुमा छठ पर्व मनाईदै छ । प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ परिसरमा रहेको पोखरीमा समेत छठ मनाउन त्यस क्षेत्रका वासिन्दाको व्यापक सहभागिता रहेको छ ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात मंगलबार संध्याकालिन र बुधबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।