इन्स्पेक्टर पण्डित पक्राउ परेपछि उनलाई अरु थुनुवासँगै राख्न आइजीपीको आदेश

२२ भदौ, ललितपुर । यसअघि अपहरणको आरोपमा कारागारमा कैद सजायँ भुक्तान गरेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई  साथ दिएको आरोपमा मंगलबार भैंसेपाटी प्रहरी प्रभागका इन्स्पेक्टर अनिल पण्डित पक्राउ परेपछि आइजीपी उपेन्द्रकान्त अर्याल ललितपुर परिसर पुगेर पण्डितलाई अरु थुनुवासँगै राख्न आदेश दिएका छन् ।

igp

आइजीपी अर्यालले श्रीमती हत्या अभियोगमा कारागारमा सजायँ भुक्तान गरिरहेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाकी ‘प्रेमीका’लाई अपहरणको धम्की दिएको आरोपमा  पक्राउ परेका गुप्तालाई  साथ दिएको इन्स्पेक्टर पण्डितको जस्तै हालत अपराधीसँग साँठगाँठ राख्ने प्रहरीको हुने चेतावनी दिए ।

आइजीपी अर्याल पूर्व जानकारी विना बिहान करिब ९ बजेतिर एक्कासी ललितपुर परिसरमा देखिएपछि परिसरका कर्मचारी चकित परेका थिए । उनले ललितपुर परिसर मातहतका सबै इकाइ प्रमुखहरुलाई एकै ठाउँमा राखेर दुई घण्टा बि्रफिङ गरे ।

स्रोतका अनुसार आइजीपी अर्याल ललितपुरकै प्रहरी पटक-पटक किन अपराधीसँग जोडिएर आउँछ भन्दै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । यसअघि घुससहित रंगेहात पक्राउ परेका डिएसपी दयानिधि ज्ञवालीको प्रसंग निकाल्दै अर्यालले भने, ‘यो भन्दा अगाडि एउटा डिएसपीले अपराधीसँग पैसा खायो । फेरि अर्को इन्स्पेक्टरले यो हर्कत देखायो । यहाँ पटक-पटक किन यस्तो भैरहन्छ ?’

प्रहरी हिरासतमा रहेका इन्स्पेक्टर अनिल पण्डितको श्यामसुन्दर गुप्तासँग कारागारमै चिनजान भएको खुलेको छ । व्यवसायी पवन सांघाइको अपहरणकाण्डमा गुप्ताले डिल्लीबजार कारागारमा कैद सजायँ भुक्तान गर्दा इन्स्पेक्टर पण्डित त्यही कार्यरत थिए । उनी त्यतिबेला सई पदमा थिए ।

७० सालमा इन्स्पेक्टरमा बढुवा भएपछि सातदोवाटो वृत्तमा समेत बसेका पण्डित करिब ६ महिना अघि भैंसेपाटी प्रभाग पुगेका थिए । पण्डितले पनि पैसा असुल गरेको ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीले बताए ।

एसएसपी पिताम्बर अधिकारीले भने, ‘५० लाख लिने उद्देश्यसहित बार्गेनिङ गरेको भए पनि ७५ हजारमात्रै पण्डितले लिएको खुलेको छ,’  ।

तपाइको मत