२० कार्तिक ०७७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ ।
हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले आज १० लाख रुपैयाँ घुससहित हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट पक्राउ गरेको हो ।
आयोगको कार्यालयले प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको टोलीले पक्राउ गरेको जनाएको छ ।
आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाका अनुसार ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले १० लाख रुपैयाँ मागेको र उक्त रकम लिने क्रममा होटलबाट पक्राउ परेका हुन् ।