![](http://www.hakahaki.com/wp-content/uploads/2020/06/103258678_3030931840330318_4332675348043952372_n-e1592152923200.jpg)
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान पहिरोस्थलमा पुगेपछि / तस्बिर : स्वकीय सचिव राजुको फेसबुकबाट ।
पहिरोले पुरिएर ८ को मृत्यु, १ जना अझै बेपत्ता
३२ जेठ ०७७, पर्वत । जिल्लाको कुस्मा नगरपालिका–३ दुर्लुङ ढकालवारी काउलेमा गएराति आएको पहिरोले पुरिँदा ८ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव खुम बहादुर ‘राजु’ले शनिबार राति करिब ८ बजे आएको वर्षासहितको पहिरोमा परेर दुई परिवारका ८ जनाको मृत्यु भएको र १ जना अझै बेपत्ता रहेको जानकारी दिए ।
“मन्त्रीज्यूले पहिरो गएको करिब आधा घण्टा नहुँदै दुई घर पुरिएको भन्ने जानकारी पाउनासाथ उद्दार कार्यका सशस्त्र र जनपथ प्रहरीलाई घटनास्थल पठाउनु भयो,” स्वकीय सचिव राजुले भने, “आइतबार दिउँसो घटस्थालमै पुगेर उहाँले पीडित परिवारलाई समवेदनासहित प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गर्नुभयो ।”
![](http://www.hakahaki.com/wp-content/uploads/2020/06/104474730_3030931743663661_5162398174878185299_n-e1592152812874.jpg)
समवेदनासहित पीडितलाई राहत रकम प्रदान गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान / तस्बिर : स्वकीय सचिव राजुको फेसबुकबाट ।
पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको निधन, १ जना बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ भन्दै स्वकीय सचिव राजुले नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको बताए ।
सो पहिरोबाट ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।
यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक, छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विकलाई पहिरोले पुरेको थियो । आइतबार साँझसम्म जेनिस बेपत्ता नै रहेका छन् । उनको खोजी कार्य जारी छ ।
![](http://www.hakahaki.com/wp-content/uploads/2020/06/104406870_3030932210330281_9025543803285640915_n-e1592152740127.jpg)
बेपत्ताको खोजी कार्यलाई पहिरोस्थलबाट नियाल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान / तस्बिर : स्वकीय सचिव राजुको फेसबुकबाट ।
तुलबहादुरका छोरा–बुहारी अम्मर थापा र रिमाया थापा घरदेखि केहीपर पसल सञ्चालन गर्दै आएकाले ज्यान जोगिएको छ ।
यस्तै कमला विकका श्रीमान् विकास विक रोजगारीको सिलसिलामा साउदीमा छन् भने तुलबहादुरी छोरी दीपाको श्रीमान पनि साउदीमै छन् ।
आजै जिल्ला दैवीप्रकोप उद्दार समितिले पनि पहिरो पीडित परिवारलाई १ लाख रुपैयाँका दरले राहत रकम प्रदान गरेको छ ।
पीडितका आफन्तलाई समवेदना दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संघीय सांसद पदम गिरी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पनि घटनास्थल पुगेका थिए ।