५ मंसिर ०७७, काठमाडौं । छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइएको हो ।
बुधबारदेखि शुरु भएको पर्वबारे ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।
यस वर्ष प्रशासनले कोरोना भाइरसबाट बच्न भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेअनुसार नै पर्व मनाइएको छ ।