कोरोनाबाट अमेरिकामा २० हजार ५ सयभन्दा बढी मानिसको मृत्यु

३० चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शुक्रबारसम्म कोरोनाबाट विश्वभर सबैभन्दा बढीको मृत्यु हुने मुलुकका रुपमा इटाली रहेकोमा शनिबार अमेरिकाले इटालीलाई उछिनेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ३० जनाको ज्यान गइसकेको छ भने हालसम्म २० हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार संयुक्त राज्य अमेरिकाले मृत्युको कुल संख्यामा इटालीलाई पार गरेको छ । पहिलो पटक सरकारले ठूलो विपत्ति परेको घोषणा गरेको छ भने नागरिकलाई घरघरमा बस्न भनेको छ ।

अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३० हजार ४ सय ५३ जना निको भइसकेका छन्

कोरोनाबाट विश्वभर अहिलेसम्म १७ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।