३ असोज ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व भए देश विकास हुने बताएका छन् ।
संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो,’ उनले भने, ‘तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’
अबको लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताउँदै उनले भने, ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो ।’