अन्तरप्रदेश परिषदको बैठक सम्पन्न

२४ मंसिर ०७५, काठमाडौं । आइतबारदेखि सुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सम्पन्न भएको छ ।

सोमबार सम्पन्न भएको बैठकले मुख्यमन्त्रीहरुले उठाएका विषयहरुलाई समेटेर निष्कर्षसहितको प्रतिवेदन बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अध्यक्ष रहने गरी गठन गरिएको कार्यदलमा अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

उक्त कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या समाधान गर्न चाहेको विषय स्पष्टसँग राखेको प्रवक्ता बास्कोटाले बताए ।

तपाइको मत