१९ बैशाख ०७४, काठमाडौ । संबैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा वरिष्ठ आयुक्त दीप बस्न्यातको नाम सिफारिस गरेको छ ।
मंगलबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गरेको हो ।
सर्वोच्चले आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाउने आदेश दिएपछि रिक्त रहेको प्रमुख आयुक्तमा बस्न्यातलाई सिफारिस गरिएको हो ।
यसअघि सरकारले बस्न्यातलाई कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी दिएको थियो ।
संबैधानिक परिषद सदस्य तथा सभामुख ओनसरी घर्ती मगरले दीप बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिइन ।
पछिल्लो ८ महिनादेखि रित्त रहँदै आएको महालेखा परीक्षकमा प्रमुख महालेखा परीक्षकको नाम बुधबार बस्ने बैठकले सिफारिस गर्ने निर्णय गरेको छ ।