९ बैशाख ०७४, काठमाडौं । अखण्ड नेपाल पार्टीका संयोजक दयाराम पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्य समितिसहित एक हजार भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन आगामी दिनमा समृद्धि र उन्ननयका काम गर्ने उनले बताएका छन् ।
देउवाले अखण्ड नेपाल पार्टी समानान्तर कमिटीलार्इ पार्टीमा प्रवेश गराउँदै जनताले पत्याएको पार्टीका रुपमा कांग्रेस स्थापित भइसकेको भन्दै २०७० को संविधानसभा निर्वाचनमा प्राप्त जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने दाबी गरेका हुन् ।
उनले ‘नेपाली कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ’ भन्दै शान्ति, प्रजातन्त्रका लागि सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत राजनीतिक स्थायीत्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने बताए ।