होटल मजदुर संघको राष्ट्रिय सम्मेलन माघ २८ र २९ गते चितवनमा हुने

८ असोज ०७८, काठमाडौं । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ केन्द्रीय समितिको पूर्ण बैठकले संघको छैटौं राष्ट्रिय सम्मेलन आगामी माघ २८ र २९ गते चितवनको सौराहामा गर्ने निर्णय गरेको छ ।

शुक्रबार तिलगंगास्थित होटल आनन्दमा संघको केन्द्रीय अध्यक्ष माधव पाण्डेको अध्यक्षता, अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यता साथै अन्टुफ अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्यतामा बसेको पूर्ण बैठकले छैटौं राष्ट्रिय सम्मेलन आगामी माघ २८ र २९ गते चितवनको सौराहामा गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पाण्डेले दिएको जानकारी अनुसार बैठकले प्रतिष्ठान र जिल्लाहरुको भेला, सम्मेलन तथा गठन, पुनर्गठन २०७८ मंसिर ३० भित्र र प्रदेशहरुको सम्मेलन २०७८ पुस २५ सम्म गरिसक्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले विधान प्रतिवेदन लेखन तथा संशोधन समिति, आर्थिक व्यवस्थापन समिति, सदस्यता अध्यावधिक समिति, मञ्च तथा आवास व्यवस्थापन समिति, राष्ट्रिय सम्मेलन प्रचार प्रसार समिति गठन गरेको पनि उनले जानकारी दिए ।

कोरोना महामारीले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको भन्दै अध्यक्ष पाण्डेले लाखौं श्रमिकको रोजगारी खोसिएकाले रोजीरोटी सुनिश्चितताका लागि सरकारले बृद्धि गरेको पारिश्रमिक साथै, दश प्रतिशत सेवा शुल्क र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउनका लागि सशक्त संघर्ष गर्ने बैठकले निर्णय लिएको बताए ।

उक्त बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपाध्यक्षत्रय जय कार्की, धनबहादुर विक, एसबी थापा मगर, कावा महासचिव शालिकराम काफ्ले, उपमहासचिव प्रकाश श्रेष्ठ, सचिव सोम तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै बैठकमा प्रदेश १ बाट अध्यक्ष सत्य नारायण साह, प्रदेश २ बाट संयोजक झलक श्रेष्ठ, बागमती प्रदेशबाट अध्यक्ष मिलन मल्ल, गण्डकी प्रदेशबाट राजेन्द्र तिमल्सिना, लुम्बिनी प्रदेशबाट कैलाश तामाङ, होटलहरुको तर्फबाट सुशीलराज भण्डारी, क्यासिनोको तर्फबाट अर्जुन खनाल, रेष्टुरेन्टको तर्फबाट दिपक सापकोटा र महिला कमिटीको तर्फबाट सरला धमलाले कार्यक्षेत्रको बारेमा रिपार्टिङ राखेकी थिइन् ।

संघकी उपाध्यक्ष अजिता सिम्खडाले स्वागत मन्तव्य राखेको पूर्णबैठकको सञ्चालन संघको वरिष्ठ उपाध्यक्ष कुमार पन्तले गरेका थिए ।