२४ मंसिर ०७५, राजविराज । हरवाचरवा अधिकार मञ्च सप्तरीले विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
सोमबार ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्थानीय राजरंगशालाबाट हरवाचरवा अधिकार मञ्च सप्तरीको अगुवाईमा निस्केको जुलुसले सदरमुकाम राजविराजको बजार क्षेत्रमा प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
मञ्चका अध्यक्ष देवलाल रामद्वारा बुझाइएको ज्ञापनपत्र मार्फत हरवाचरवाको सम्पूर्ण ऋण मिनाहा, हरवाचरवाको जीवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था, हरवाचरवाका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यून्तम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वय लगायतका माग पुरा गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभाका सहभागी वक्ताहरुले मुलुकमा एकपछि अर्को परिवर्तन हुँदै गए पनि हरवाचरवाको अवस्था ज्युँको त्युँ रहेको भन्दै यसतर्फ प्रदेश र संघीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने माग गरेका थिए ।