२८ माघ, काठमाडौं । स्थानीय स्वायत्त शासन ऐन अनुसार जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले भर्ना गरेका कर्मचारीहरुले अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।
सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले आज हातमा कालो पट्टी बाँधेर दिउँसो एक बजेसम्म पेन डाउन गरी देशभर विरोध गरे । यस्तै उनीहरुले कर्मचारी समायोजनसँगै निजामती कर्मचारी सरह स्थानीय तहमा भर्ना भएका कर्मचारीलाई समेत सेवा सुविधाको व्यवस्था गर्नु पर्ने, गाउँपालिका, नगरपालिकाको कार्यकारी अधिकृत हुन सक्ने माग अघि सारेका छन् ।