९ कार्तिक ०७५, राजविराज । सप्तरीमा स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ ।
राजविराज–रुपनी सडक खण्डस्थित रुपनी गाउँपालिका २ मा ना.३ ख ७३९० नम्बरको बसले बाटो काटने क्रममा आमाको हातबाट छुटाएर किचेर राजविराज नगरपालिका ८ बस्ने गुणानन्द यादवको छोरा पाँच वर्षीय शिवमकुमार यादवको घटनास्थलमै मृत्यु भएको हो ।
राजविराज ८ स्थित घरबाट रुपनी गाउँपालिकाको पौवास्थित साविकको घर गइरहेका बेला म्याजिक भ्यानबाट ओर्लिएका बालकका आमाले म्याजिक भ्यानको भाँडा तिरिरहेका बेला हात छुटाएर बाटो काटने क्रममा बालकलाई बसले ठक्कर दिएको हो ।
राजविराज नगरपालिका ९ मलेठस्थित कालिका बोर्डिङ्ग स्कुलको विद्यार्थी ओसारिरहेको बसले ठक्कर दिंदा बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
बालकको मृत्युपछि बेहोस भएकी आमा हिरादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक बालकलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
घटनालगत्तै बस छाडेर चालक फरार भएका छन् । बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बस चालकलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीयवासीले आधा घण्टा चक्का जाम गरेका छन् ।