सिंहदरबारभित्रै अस्थायी कर्मचारीको प्रदर्शन

१३ कार्तिक ०७५, काठमाडौं । विभिन्न सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले स्वतः स्थायीको माग गर्दै सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रशासनिक पुनर्संरचनाको क्रममा समायोजनामा परेका मन्त्रालय, विभाग, आयोग, सचिवालय र जिल्ला कार्यालयहरूमा कार्यरत ती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका हुन् ।

आन्दोलनरत कर्मचारीले ६ बुँदे माग अघि सार्दै सरकारी कार्यालय, संघ–संस्था र अर्ध–सरकारी निकायहरूमा २४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, कर्मचारीहरूलाई रोजीरोटीको ग्यारेन्टी गर्दै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने, संघीय निजामती सेवाको गठनमा अस्थायी र करार सेवा राख्नुपर्ने, अस्थायी कर्मचारी सम्बन्धी सरकारले गत भदौमा गरेको निर्णय खारेज गर्नुपर्ने संघको माग छ ।

करार कर्मचारी व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार सरकारले २ भदौमा समायोजनमा नपरेका अस्थायी वा करार कर्मचारीलाई तीन महिना बराबरको पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो ।

तर, कर्मचारीहरु त्यसको विरोधमा आर्थिक वर्ष २०७४र०७५ सम्मका अस्थायी कर्मचारीको व्यवस्थापन गरेर मात्रै थप कर्मचारी भर्ना गर्नुपर्ने माग राखेका छन् ।

तपाइको मत