समाजवाद उन्मुख ‘जनताको जनवाद’विरुद्ध जानु एकता विरोधी यथास्थितिवादी सोच – अन्टुफ

२० साउन ०७७, काठमाडौं । बन्दाबन्दी हटेसँगै बसेको सत्तारुढ दलनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको पदाधिकारी बैठकले सांगठनिक गतिविधिलाई तिब्रता दिने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय कार्यालय कोटेश्वरमा अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय पदाधिकारी बैठकले उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ट्रेड युनियनबीच भएको सहमति कार्यान्वयन तथा अनुगमन गर्ने साथै एकताको बाँकी कार्यभारलाई पूरा गर्न आवश्यक सांगठनिक कार्यलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महासंघका सचिव सोम तामाङले भने, ‘हालै एफएनसीसीआई र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच भएको ७ बुँदे सहमति मजदुरहरुको रोजगारी र रोजीरोटी ग्यारेण्टी गर्ने मुख्य आधार भएकाले सोको पूर्ण कार्यान्वयन गर्न, गराउन साथै अनुगमन गर्न महासंघका सबै संगठनहरुलाई परिचालन गर्ने निर्णय गरिएको छ ।’

यस्तै बैठकले सत्तारुढ दलनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र जिफन्टबीचको एकतालाई छिटोभन्दा छिटो टुङ्गोमा पु¥याउने निर्णय गरेको पनि उनले बताए ।

पार्टीको बहस र छलफलमा रहेको विषय जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई आआफ्नो ढंगले सतहमा ल्याउने कार्य भइरहेको भन्दै सचिव तामाङले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएसँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको अस्तित्व विधिवत् समाप्त भएको छ । ‘पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद साथै कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद’ भएकाले यसविरुद्ध जानु एकता विरोधी, यथास्थितिवादी सोच साथै पश्चगामी चिन्तनको उपज रहेको समेत बैठकको निष्कर्ष रहेको छ ।’

कुनै दुई पार्टी वा संगठनको एकता ‘इकाई वा मातहतका संगठनहरुको एकता भएपछि’ भएको दृष्टान्त दुनियाँमा कहीँ नरहेको भन्दै उनले ‘अन्टुफ–जिफन्ट एकता मातहतका संगठनको भएता भएपछि हुन्छ कसैले भन्छ भने त्यो एकता नगर्ने एकताविरोधी प्रपञ्च मात्र’ रहेको समेत बताए ।

यस्तै बैठकले स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भई उपचाररत फ्रयाक्सन इन्चार्ज जयपुरी घर्तीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघका कोषाध्यक्ष घनश्याम ठकुरीको बुबाको असामयिक निधनप्रति श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवारजनमा समवेदना गरेको छ ।