६ मंसिर०७५, राजविराज । भाई बहिनीबीचको अमर प्रेमको प्रतिक मानिने सामा चकेवा पर्वको जर्गेना र प्रचार–प्रसार गर्ने उद्देश्यले सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको ग्रामीण भेगमा महोत्सवको आयोजना गरिएको छ ।
तराई मधेशमा खासगरी थारु र मधेशी समुदायका महिला र किशोरीहरुले महत्वका साथ मनाउने सामाचकेवा तराईको एक प्रसिद्ध लोक पर्व पनि हो ।
बुधबार साँझदेखि सुरु भएको महोत्सव कात्तिक शुल्क पूर्णिमाका दिनसम्म आ–आफ्ना दाजुभाईको सु–स्वास्थ्य, दिर्घायु एंव प्रगतिको कामना गर्दै मनाईने महोत्सव आयोजक समिति थारु महिला समाजकी संयोजक हरियरवती चौधरीले बताईन ।
माटोको सामा चकेवा बनाएर टोल भर भ्रमणगरी मनाउँदा दाजुभाईलाई दिर्घायु हुने विश्वासका साथ वर्षौदेखि सामा चकेवा पर्वलाई विशेष कार्यक्रमको आयोजना गरी महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका संयोजक चौधरीले बताईन ।
महोत्सवमा सहभागी हुन आउने महिला किशोरीहरुले आ–आफ्ना रंगीन डालामा माटोले निर्मित आकर्षक एंव कलात्मक सामा चकेवाको मूर्ति राखि विभिन्न किसिमका लोक गीत गाएर टोलटोलबाट महिला र किशोरीहरु महोत्सव स्थल पुगेका थिए ।
सामा चकेवाको अन्तिम दिन पूर्णिमा माटोको भाडाकुडा बनाई त्यसमा दाल, चामल, तरकारी मिठाई इत्यादि राखेर चेलीबेटी विदाई गरे जस्तै उक्त भाडालाई गोरुले जोतेको खेत वा नजिकको जलाशयमा विदाई गर्ने परम्परा छ ।