सप्तरीमा बाढी पिडीतलाई घर हस्तान्तरण

२६ असार ०७५, राजविराज । सप्तरीको तिलाठी–कोईलाडी–१ र महादेवा गाउँपालिका–५ का १० परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

करिब २० लाख २६ हजार ५ सय रुपैया खर्चेर टिनको छाना भएको पक्की घरको निर्माण कार्य सम्पन्न भएपछि सोमवार एक कार्यक्रमबीच ‘हाम्रो समाज नेपाल’नामक संस्थाले बाढी पीडित १० परिवारलाई हस्तान्तरण गरिएको हो ।

नयाँघर पाउने बाढीपिडीतमा तिलाठी कोइलाडी गाउँपालिका–१ का त्रिलोकनाथ मिश्र, हेमनारायण मिश्र, सन्तोष झा र रविेन्द्रनाथ मिश्र हुन भने महादेवा गाउँपालिका–५ का विन्देश्वर खंग, चन्देश्वर खंग, पलट खंग, रवी साह, जागेश्वर खंग र रमा खंग हुन् ।

उनीहरुलाई समाजसेवी एवं प्रमुख दाता कृत शर्मा, हाम्रो समाज नेपालका अध्यक्ष रामनारायण शर्मा, वडा अध्यक्ष दिनेश्वर मिश्र, संस्थाका संचालक सदस्य वैधनाथ यादव, प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झा लगायतले नयाँ घरको साँचो तथा संस्थाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा भवन निर्माणको अगुवाई गर्ने शर्माले बाढीपिडीत परीवारलाई नयाँघर सँगै नगद ५/५ हजार रुपैयाँ सहयोग तथा २/२ थान झुल समेत वितरण गरेका थिए । लामखुट्टेको टोकाईबाट हुने सम्भावित रोगको प्रकोपबाट जोगाउन डोटोनेट झुल वितरण गरिएको शर्माले बताए ।

सरकारी निकायबाट कुनै सहयोग नपाए पनि आफ्नो व्यक्तिगत र इष्टमित्रवाट थोरै थोरै पैसा जुटाएर बाढीबाट घरवारविहिन भएका १० परिवारलाई सहयोग गर्न सकेकोमा निकै आत्मसन्तुष्टी मिलेको बताउँदै भावी दिनमा पनि विपन्न समुदायका गरिब, जेहेन्दार वालवालिकालाइ छात्रवृति रकम उपलब्ध गराई विद्यालयसम्म पु¥याउने योजना रहेको उनले बताए ।

यस्तै भवन निर्माण कार्यक्रममा संस्थाको तर्फबाट खटेर कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेका किशोर कुमार मिश्रलाई कदर पत्र र नगदबाट सम्मानित गरिएको थियो ।

२८ साउन २०७४ मा आएको भीषण बाढीले घर बगाउँदा कष्टपुर्ण जीवन विताउँदै आएका बाढीपिडितको विजोग देखेर महादेवा गाँउपालिका निवासी समाजसेवी कृत शर्माले व्यक्तिगत र अमेरिकामा बसोबास गरेका नेपाली इस्टमित्रको सहयोग जुटाएर ‘हाम्रो समाज नेपाल’नामक संस्था मार्फत २०७४ कार्तिक २ देखि बाढी पीडित विस्थापित विपन्न परिवारका लागी नयाँ घर बनाउने काम सुरु गरेका थिए । प्रत्येक घर सँगै एउटा÷एउटा शौचालय समेत निर्माण गरिएको छ ।

गत वर्षको बाढीले उनीहरुको घर बगाएपछि उनीहरु एलानी जग्गामा टहरा ठड्याएर आश्रय लिइरहेका थिए ।

तपाइको मत