४ असोज ०७७, सप्तरी । संविधान दिवसको विरोध कार्यक्रममा जनता समाजवादी पार्टीको नेता, कार्यकर्ता आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ ।
शनिबार संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको बिरोध जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता, कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।
तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दै तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथि, प्रदेश सासंद अभिषेक यादव र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।
विद्यार्थी नेता शम्भु यादवले मन्तव्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडि आएर विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।
कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु, निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।
स्थिति असहज हुन थालेपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए ।
पार्टीका सम्मानित नेताहरुको अपमान गर्ने अधिकार कसैलाई नभएको बताउँदै जसपाका स्थानीय नेता भिमराज यादवले सम्मानमाथि आँच आउन थालेपछि विरोधमा उत्रिएको बताए ।
कार्यक्रममा सहभागी हुन ग्रामिण भेगबाट आएका कार्यकर्ताहरु भने पार्टीका नेताहरुको झडप हेर्दा आश्चर्यचकित भएका थिए ।