१२ फागुन ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले फागुन ११ अर्थात् मजदुर शहीद बलिदान दिवस सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
आइतबार १९औं बलिदान दिवसका अवसरमा महासंघले प्रदेश नं. १ देखि सुदूरपश्चिम प्रदेशसम्म गरेका कार्यक्रमको एक रिपोर्ट प्रस्तुुुत गरिएको छ ।
प्रदेश १ महासंघले सुनसरीको इटहरी र मोरङको बिराटनगरमा मजदुर शहीद बलिदान दिवस मनाएको छ ।
सुनसरीको इटहरीमा प्रदेश १ महासंघका अध्यक्ष टिका प्रसाईंको प्रमुख आतिथ्यता र मोरङको बिराटनगरमा प्रदेश १ उपाध्यक्ष उपेन्द्र रायको प्रमुख आतिथ्यतामा शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरी बलिदान दिवस मनाइएको हो ।
यसैगरी प्रदेश २ को सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा मजदुर शहीद बलिदान दिवस मनाइएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीले महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा महासंघका प्रदेश सचिव केदार देवको प्रमुख आतिथ्यमा मजदुर बलिदान दिवस राजबिराजमा मनाएको छ ।
सो कार्यक्रममा महासंघका जिल्ला ईन्चार्ज रामकुमार राय, उपाध्यक्ष रतन मण्डल, कोषाध्यक्ष ज्ञानी देवी सरदार, सहसचिव कपुर देवी चौधरी, सदस्यहरू आानन्द कुमार मुखिया, केवल मेहतर, प्रमिला सदा, तेतरी सदा, बिद्युतीय रिक्शा अटो टेम्पो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र प्र.देव, सचिव कारी प्र.यादव, सत्यनारायण साह, ढुवानी मजदुर संघ जिल्ला अध्यक्ष अभिमन्यु साह, सरसफाई जिल्ला सचिव उपेन्द्र मरिक डोम, पार्टीका नगर सदस्य उत्तम कुमार राई लगायतको विशेष उपस्थिति रहेको थियो ।
जिल्लामा क्रियाशील मजदुरहरुको व्यापक सहभागिता रहेको सो कार्यक्रममा दशवर्षे महान जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने महान सहिदहरु तथा बेपत्ता योद्धाप्रति श्रद्धाञ्जली अर्पण तथा बेपत्ता योद्धामा सम्मान प्रकट गरिएको थियो ।
यस्तै सिराहा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का पार्टी सदस्य कृष्ण कुमार लामाको प्रमुख आतिथ्यता, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव एवम गोलबजार नगरपालिका वडा नं. ७ का अध्यक्ष गनपैत यादवको विशेष आतिथ्यता र शान्ता लामा लगायतको आतिथ्यतामा १९औं मजदुर बलिदान दिवस मनाइएको उक्त कार्यक्रमको अध्यक्षता श्यामसुन्दर यादवले र सञ्चालन रामपुकार राईले गरेका थिए ।
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ महोत्तरी, सर्लाही र धनुषाले संयुक्तरूपमा बलिदान दिवस मनाएका छन् ।
महोत्तरीको रामनगरमा महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल औधोगिक मजदुर संघका प्रदेश २ अध्यक्ष मुरारी दुलालको अध्यक्षता र महासंघका के.स.युवराज लुइँटेलको प्रमुख आतिथ्यमा १९औं मजदुर बलिदान दिवस मनाइएको हो ।
साे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का सदस्य विष्णु लामाको विशेष आतिथ्यता र कृषि मजदुरका केन्द्रीय सचिव वीर बहादुर चौधरी लगायतका आतिथ्य रहेको थियोे । उक्त कार्यक्रमको सञ्चालन केदार सुसलिङले गरेका थिए ।
यसैगरी बारा जिल्लामा महासंघका उपाध्यक्ष एवम् प्रदेश २ का इन्चार्ज सोनालाल साहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको खबर छ ।
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघले प्रदेश ३ मा केन्द्रीय कार्यक्रम आयोजना गरी बलिदान दिवस मनाएको छ ।
महासंघ केन्द्रले केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बेपत्ता योद्धा उमेश सेंढाईकी जीवन संगिनी उषा देवकोटा, शहीद सम्भु पौडेलकी जीवन संगिनी रञ्जना पौडेल लगायतलाई अभिनन्दन तथा सम्मान गरी मजदुर शहीद बलिदान दिवस मनाएको हो ।
महासंघका केन्द्रीय अध्यक्ष जगत सिंखडाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश व्यूरो इन्चार्ज लिलामणी पोखरेलकाे प्रमुख आतिथ्य साथै नेकपाका केन्द्रीय सदस्य कुमार पौडेलकाे आतिथ्य रहेकोे थियोे ।
कार्यक्रममा महासंघका उपाध्यक्ष जय कार्की, धनबहादुर विक, उषा देवकोटा, उपमहासचिव विष्णुकुमारी थापा, राजकुुुमार लामा, सांसद एवम् महासंघकि सचिव लालकुमारी पुन ‘सुशीला’ लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले जनयुद्धको भावनालाई स्मरण गर्दै शहीद परिवारको नजरमा गिर्ने गरेर आफूले काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
महासंघका उपमहासचिव शालिकराम काफ्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य महासंघका अर्का उपमहासचिव प्रकाश श्रेष्ठले राखेका थिए ।
कार्यक्रममा जनकलाकार लक्ष्मी गुरुङ्ग लगायतले जनयुद्ध तथा सहिदहरुसँग सम्बन्धित विभिन्न सांगितिक प्रस्तुति पस्किएका थिए ।
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिले १९औं मजदुर बलिदान दिवसका अवसरमा बेनिघाट रोराङ गाउँपालिकास्थित “मजदुर सहिद तथा बेपत्ता स्मृति पार्क” मा कालिकोटको कोटबाडा बिमानस्थल निर्माण कार्यमा जुटिरहेका मजदुरहरूमाथि तत्कालिन शाही सेनाद्वारा हत्या गरिएका परिवारका २४ सदस्यहरूलाई नगद राहतसहित दोसल्ला ओढाई अभिनन्दन गरेको छ ।
सो कार्यक्रममा कालिकोट कोटबाडाका मजदुर सहिद पविारजनहरुलाई कार्यक्रमका प्रमुख अतिथि महासंघका उपाध्यक्ष सोमबहादुर थापा, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव विजय बुर्लाकोटी, महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीले सहिद तथा बेपत्ता परिवारजनका सदस्यहरूलाई नगद राहात साथै कदर पत्र प्रदान गरी दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।
अभिनन्दित हुनेहरूमा २०५८ फागुन ११ गते कालिकोटको कोटबाडा बिमानस्थल निर्माण कार्यमा जुटिरहेका बेला तत्कालिन शाही सेनाले बम वर्षा गरी हत्या गरिएका टेक बहादुर गुरुङ, गोबिन्द गुरुङ, विकास चेपाङ, दिल्ला चेपाङ, राजकुमार विक, रामबहादुर चेपाङ, टेकबहादुर विक, सानुकान्छा विक, मञ्जु थापा मगर, भिम बहादुर थापा मगर, ज्ञान बहादुर थापा, राजकुमार श्रेष्ठ, कान्छा चेपाङ, बुद्धराज चेपाङ, चित्रबहादुर चेपाङ, कुम्ले चेपाङ र शेर बहादुर चेपाङ साथै जनयुद्धका क्रममा सहिद तथा बेपत्ता भएकाहरू फुलमा परिवार, इनद्र बहादुर थपलिया, रामहरि थपलिया, कुमार थपलिया, अमृत कडेल, राजेन्द्र बराम र भिम गिरीको परिवारजन रहेका छन् ।
१९औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख हरि डल्लाकोटी, अखिल नेपाल पसल तथा सेल्स मजदुर संघका केन्द्रीय अध्यक्ष भरत दाहाल, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लोप्चन, अखिल नेपाल सेक्युरिटी मजदुर संघका महासचिव थिङ, अखिल नेपाल औधोगिक मजदुर संघका महासचिव कृष्ण रेग्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला पार्टी सदस्यहरू देवप्रसाद त्रिपाठी, दिपा कडेल, हिरा रेग्मी, खेमराज भुजेल, ध्रुव वि.क., गाउँपालिका कार्यालय सदस्य संगिता पाण्डे साथै स्थानीय सरकारका वडा अध्यक्षहरू लगायतको आतिथ्यता रहेको थियो ।
महासंघका धादिङ जिल्ला अध्यक्ष बद्री सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष मणि गुरुङ र सञ्चालन महासंघ धादिङका सचिव सञ्जय देवकोटाले गरेका थिए ।
यस्तै गण्डकी प्रदेशले कास्कीको पोखरामा १९औं मजदुर शहीद बलिदान दिवस भव्यरुपमा मनाएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमको अध्यक्षता र महासंघका गण्डकी प्रदेश इन्चार्ज अर्जुन छन्त्यालको प्रमुख आतिथ्यमा आइतबार १९औं श्रमिक बलिदान दिवस भव्यरुपमा मनाएको हो ।
उक्त कार्यक्रममा जिफन्टका रुद्र खत्री, अखिल नेपाल ट्रेड युनियन महासंघका के.स.नवीन अधिकारी, मंगल लिम्बु, अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष झंक खत्री, स्वतन्त्र मजदुरका गण्डकी प्रदेश अध्यक्ष विष्णु खत्रीको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश सहसचिव गुणराज बास्तोला गरेका थिए ।
यसैगरी प्रदेश ५ मा विभिन्न कार्यक्रम गरी मजदुर बलिदान दिवस मनाइएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ ५ नम्बर प्रदेशले १९औं मजदुर बलिदान दिवस भव्यरुपमा मनाइएको प्रदेश ५ का महासंघ सचिव भरत भट्टराईले बताएका छन् ।
सचिव भट्टराईले दाङको घोराहीमा, बाँकेको नेपालगन्ज, अर्घाखाँचीको सन्धिखर्क, रुपन्देहीको बुटवल, कपिलवस्तुको चन्द्रौटामा विभिन्न कार्यक्रमहरु गरी मनाइएको जानकारी दिएका छन् ।
यसैगरी कर्णाली प्रदेशले कालिकोट जिल्ला महासंघले कालिकोटमै एक कार्यक्रमको आयोजना गरी १९औं मजदुर बलिदान दिवस भव्यताका साथ मनाएको छ ।
कर्णाली प्रदेश सचिव दिपक चदाराले दिएको जानकारी अनुसार अखिल नेपाल ट्रेड युनियन महासंघ कालिकोट जिल्ला कमिटीले मजदुर बलिदान दिवस कालिकोट जिल्ला महासंघ अध्यक्ष मान बहादुर बिष्ट, उपाध्यक्ष बर्म ऐडि, जिल्ला सचिव भिम बहादुर सिङको विशेष उपस्थितिमा मनाइएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा मजदुर बलिदानी दिवस मनाएको छ ।
महासंघ सुदूरपश्चिम प्रदेशले प्रदेश इन्चार्ज नरहरि नाथ योगीको प्रमुख आतिथ्यमा अत्तरियामा १९औं मजदुर बलिदान दिवस मनाएको हो ।
कार्यक्रममा प्रदेश इन्चार्ज आचार्यले शहिदहरुप्रति श्रद्धाञ्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरूले देखेका सपनाहरू पूरा गर्न अविचलित भई मजदुरका हकहितका लागि संघर्षरत रहने प्रतिबद्धता जनाएका छन् ।
महासंघका केन्द्रीय सदस्य जगदीश सोतीको आतिथ्यता रहेको उक्त कार्यक्रमको अध्यक्षता प्रदेश संयोजक बम बहादुर कठायतले गरेका थिए भने मुकेश रैकाको सञ्चालन गरेका थिए ।
यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला महासंघले जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा र महासंघका केन्द्रीय सचिव नरहरि नाथ योगीको प्रमुख आतिथ्यमा धनगढीमा मजदुर बलिदान दिवस मनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा महासंघ जिल्ला अध्यक्ष कमलेश भण्डारीको अध्यक्षता र प्रदेश उपाध्यक्ष देवराज भट्ट, पदमराज जोशीको आतिथ्यमा बलिदान दिवस मनाइएको छ ।
यस्तै डोटीमा महासंघ के.स. करन नेपालीको विशेष उपस्थितिमा १९औं मजदुर बलिदान दिवस मनाइएको छ । साथै डडेलधुरामा पनि जिल्ला महासंघले विशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको सुदूरपश्चिम प्रदेश इन्चार्ज नरहरि नाथ योगीले जानकारी दिए ।