सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुनुपर्छ – प्रचण्ड

२७ बैशाख ०७५, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आयोजित कमरेड निर्मल लामा १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कार्यक्रममा हतारमा एकता गरेर पछि पश्चताप् गर्नु भन्दा वैचारिक, राजनीति, सांगठनिक, भावनात्मक लगायत सबै विषय टुंगो लगाएर मात्र परिपक्व एकता गर्ने पक्षमा रहेकाले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचमा छलफल भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गएपनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताउँदै उनले भने -‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरेपनि निर्णायक हामी नै हौं । हामी यो पार्टी एकतालाई निष्कर्षमा पुर्याउने ठाउँ तिर लैजाँदै छौं । हामीले एउटा सही बिचारको आधारमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’

अध्यक्ष दाहालले एकताबाट दायाँबायाँ हुने अवस्था नरहेको दोहोर्‍याउँदै छिट्टै एकताको मिति घोषणा गर्ने बताउँदै एकतापछि महाधिवेशनबाट आफू अध्यक्ष हुनुपर्ने कुनै माग नराखेको दाबी गरे ।

तपाइको मत