१० असाेज ०७८, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई पोखरास्थित मणिपाल अस्पताल खरिदबिक्रीकाे बारेमा प्रश्न गरेको छ ।
आइतबार बसेको समितिकाे बैठकले मणिपाल अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै बिक्री भएको हो कि होइन ? भनी मन्त्रालयलाई त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो ।
‘मणिपाल अस्पताल बेचबिखन भएको भन्ने आइरहेको छ, त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन् ।
यस्तै शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई मणिपाल अस्पतालसँग भएको सम्झौतापत्र समेत मागेको छ ।
यसैगरी समितिले कोभिड –१९ को कारणले चीन–जापान लगायतका देशहरुमा अध्ययन गर्न जान नपाएका र प्रयोगात्मक अभ्यासमा समस्या भएका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न कुटनितिक पहल लिन पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समिति सभापति घर्तीले निर्देशन दिएकी छन् ।