२० कार्तिक ०७५, राजविराज । बाढी, आगलागी, शितलहर, सर्पदन्स, बम विस्फोट, भुकम्प लगायतका विपतबाट हुने क्षति न्युनीकरण लागि नेपाली सेनाले ११ दिने जनचेतना अभियान सम्पन्न गरेको छ ।
विपत आउँदा स्थानीय स्तरमै विपत व्यवस्थापन गर्न तथा आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न नपाएका बिरामीका लागि नेपाली सेनाको श्री भिमदल गणले जनचेतना अभियान सञ्चालन गरेको हो ।
भिमदल गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुवरका अनुसार जनचेतना र मनोबैज्ञानसिक सहयोगका साथै विपन्नलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ जिल्लाको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र
महादेवा गाउँपालिकाको ५ स्थानमा स्थानीयबासीलाई प्रशिक्षण दिएर स्थानीय स्तरमै विपद व्यवस्थापनका लागि सेनाको विज्ञ टोली खटाईएको थियो ।
अभियानमा सहभागी स्थानीयलाई विपत आउँदा खोजी तथा उद्घार, उद्घार गरिएका व्यक्तिको हेरचार, खोजि तथा उद्घार कार्य गर्दा कसरी न्युन्तम जोखिममा काम गर्ने लगायतका सिप सिकाईएको प्रमुख सेनानी कुवरले बताए ।
त्यस्तै, अभियान अन्तर्गत जिल्लाको महदेवा गाउँपालिकामा बृहत २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो । शिविरमा २५० महिला सहित ३५० जना बिरामीले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेक जाँच र उपचारका लागि सेनाको विशेषज्ञ डाक्टरहरुको टोली परिचालन भएको थियो ।