१० साउन ०७८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउने प्रक्रिया तुरुन्त शुरु गर्न निर्देशन दिएकी छन् ।
प्राधिकरणद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री भुसालले डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउने प्रक्रिया तुरुन्त शुरु गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएकी हुन् ।
प्राधिकरणले उठाउन बाँकी रहेको विद्युत महसुल झण्डै साढे १५ अर्ब रूपैयाँ उठाउन सञ्चालक समितिको बैठकबाट प्राधिकरणमा फर्काइदिएको बताउँदै स्वागत कार्यक्रममै उनले प्रश्न गरिन, “लामो समयसम्म महसुल किन उठ्न सकेन ? त्यसको जिम्मेवार को हो ? यो मन्त्री, प्रधानमन्त्रीको तहमा पुग्नुपर्ने विषय हो ?”
“विद्युत महसुल उठाउने विषय कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको क्षेत्रमा पर्छ कि पर्दैन ?” प्रश्न उठाउँदै मन्त्री भुसालले भनिन् “कुनै पनि कर्मचारी जिम्मेवारीबाट भाग्न मिल्दैन, दिइँदैन ।”
विद्यूत महसुल किन उठ्न सकेन् भन्ने बारेमा आफूलाई स्पष्ट जवाफ चाहिने समेत उनले बताइन् ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए ।
गत वर्ष ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ को नाफा ५ अर्बमा अनुमान गरिएको छ ।