१३ बैशाख ०७५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेकाले यसमा बिलम्ब गर्नु नहुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेको बताउँदै यसमा बिलम्ब गर्नु नहुने बताउँदै पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको पनि बताए ।
अध्यक्ष दाहालले भने – ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’
दाहालले २०४६ सालदेखि नै कम्युनिष्टबीच एकताको कुरा सुरू भएकाले कम्युनिष्टको एकता अघि बढिरहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको दाबी गर्दै उनले भने- ‘यो एकताको विषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० जेठ ६-७ गते छलफल गर्ने कुरा हामीबीच भएको थियो । तर, उहाँको बीचमै २०५० जेठ ३ गते हत्या भयो ।’
शुक्रबार दुवै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्बन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने दाहालले बताए। अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ-आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।