२५ पुस ०७५, वीरगञ्ज । लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन् ।
वीरगञ्ज प्रहरीले वीरगञ्ज महानगरपालिका–८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै गरेका वीरगञ्ज महानगरपालिक–११ बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका–४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठलाई पक्राउ गरेको हो ।
हवारीको साथबाट लागूऔषध नाइट्राभेट ट्याबलेट ७४७ थान फेला परेको थियो । लागूऔषध र साइकलसहित हवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका –१६, स्थित मुल भन्सार गेटबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
दक्षिण रक्सौलबाट उत्तर वीरगञ्जतर्फ पैदल आउँदै गरेका बिष्णु श्रेष्ठको साथबाट लागूऔषध इन्जेक्सन डाइजेल्याब ११ एम्पुल, फेनार्गन १० एम्पुल र नूफिर्न ८ एम्पुल बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।
हवारी र श्रेष्ठ दुवै जना विरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।