१५ माघ ०७५, काठमाडौं । अख्तियारले श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध मंगलबार १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
पछिल्लो समय साढे ३३ किलो सुन तस्करीमा मुछिएपछि श्रेष्ठको असाधारण सम्पत्ति आर्जनको रहस्य खुलेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्रेष्ठले पछिल्लो दुई दशकमा करोडौं सम्पत्ति जोडेको देखिन्छ ।
उनले २ करोड ४६ लाख रुपैयाँ खर्चिएर जग्गा जोडेका छन् भने झण्डै चार करोडमा घर बनाएका छन् । त्यस्तै नमोबुद्ध एग्रो प्रालिमा साढे ५ करोड लगानी गरेका छन् । उनले पौने ४ करोड ऋण तिरेर सवारी साधन खरिदमा मात्र सवा २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार श्रेष्ठको परिवारको ९ करोड ६३ लाख ८ हजार ८२९ मात्र बैध आन्दानी भएको पाइएको छ । यसबाहेक १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको पाइएको छ ।
यसबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समते जोड्दा १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनले पत्नीहरु तारादेवी र रेखा, बाबु ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण र बुहारी रविनाको नाममा समेत सम्पत्ति लुकाएको ठहर गर्दै अख्तियारले ती सम्पत्ति जफत गर्न माग गरेको छ ।