राष्ट्रमा विखण्डनको खतरा अझै बढेको छः भण्डारी

२८ बैशाख ०७५, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले देशमा अझै विखण्डनको खतरा बढेको बताएका छन् ।

शनिबार राजविराजमा पत्रकार सम्मेलनमा संयोजक भण्डारीले सो कुरा बताएका हुन् । विखण्डनको मुद्दा बोकेका सिके राउतलाई देखाएर सरकारले विखण्डनवाद र पृथकतावादको अन्त्य भएको बताएको दावी गरेपनि सरकारकै कारण विखण्डनको दिशामा मुलुक अघि बढ्नसक्ने आशंका व्यक्त गरेका हुन् ।

कार्यक्रममा भण्डारीले मधेशी जनतामाथि भइरहेको विभेद अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको र सरकार संविधान संशोधन गर्ने मानसिकतामै नरहेकाले त्यसले विखण्डनको बाटो खोल्न सक्ने बताए । उनले विभेदले विद्रोहको जन्म दिने र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुने भएकोले सरकार लचक भएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नुपर्ने बताए ।

संयोजक भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेकोले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सञ्चार क्षेत्रसमेतलाई नियन्त्रण गरेर सरकार अगाडि बढिरहेको दावी समेत गरे ।

त्यस्तै, सम्मेलनमा बोल्दै भण्डारीले राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, सम्पत्ति शुद्धिकरण लगायतका अनुसन्धान गर्ने निकाय प्रधानमन्त्री कार्यालय अन्तर्गत पु¥याएर सरकारले गतल अभ्यास गरिरहेको जिकिर गरे ।

सरकारले पछिल्लो समय मिडियामाथि पनि बन्देज लगाउने प्रयास गरिरहेकोले राष्ट्रियसभा सचिवालयमा दर्ता गरिएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लोकतन्त्रको मूल्य, मान्यता र मर्ममाथि नै आक्रमण गरिरहेको बताए ।

तपाइको मत