राष्ट्रपतिद्वारा मित्रराष्ट्र चीनको सराहना, सम्बन्ध थप सुदृढ

१५ मंसिर ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्र राष्ट्र चीनको सराहना गरेका छन् ।

एक दिने ‘वर्किङ भ्रमण’ का लागि नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेसँग आइतबार शितल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने भन्दै सराहना व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले दिएको जानकारी अनुसार राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको थियो ।

यस्तै चिनियाँ रक्षामन्त्री फेङहेले सैनिक मुख्यालय भद्रकालीमा नेपाली सेनाबाट ‘गार्ड अफ अर्नर’ लिएर प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गरेका छन् । यसबाहेक उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार नै भेट गरी भ्रमण सकेर फर्किए ।

चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले एक रिपोर्ट प्रकाशित गदै नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालको स्वायत्तता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्न सहयोग गर्ने धारणा व्यक्त गर्दै वेल्ट एण्ड रोडको वारेमा पनि छलफल गरेको जनाएको छ ।