२७ बैशाख ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते साँझ ९ बजेभित्र संविधानको धारा ७६ (२)अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।
सोमबार प्रधानमन्त्री केपी ओलीद्वारा संसदमा प्रस्तुत विश्वासको मतमाथिको प्रस्ताव अस्वीकृत भएपछि राष्ट्रपतिले बैशाख ३० गते साँझ ९ बजेभित्र संविधानको धारा ७६ (२)अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ गतेको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।”