३१ असार ०७५, काडमाडौं । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ ।
कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।
राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।
स्थायी परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख गरिएकाले परिचयपत्रका आधारमा सामाजिक सुरक्षाभत्ता पाउने अध्यक्ष वलीले बताए ।
गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरिएको पनि अध्यक्ष वलीले बताए । गाउँपालिकाले नियुक्त गरेका कर्मचारी राउटे समुदाय जहाँ जहाँ पुग्छन् र बस्छन् त्यहीँ पुगेर काम गर्ने र दैलेखसहित, सल्यान, दाङ, अछाम, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्ने सबै राउटे समुदायले अब दैलेखको गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उनले बताए ।
उक्त समुदायका महामुखिया महिनबहादुर शाहीले सधैँ एकै ठाउँमा नबस्ने भएकाल सरकारले परिचयपत्रभन्दा खाद्यान्न र पैसा दिए आफूहरुलाई पेट पाल्न सजिलो हुने बताएका थिए ।
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा १४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिए ।