१ जेठ ०७५, काठमाडौं । सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात संघ-संस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्तिकाे खोजी कार्यलाई तिव्रता दिएको छ ।
आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्वद्ध संघ-संस्थाहरुको चल, अचल सम्पत्तिको विवरण १५ दिनभित्र तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको हो ।
यसअघि सेण्डिकेट हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुकाे बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।
सो क्रममा गृह मन्त्रालयको निर्देशन अनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो ।
आजको बैठकले बैंक खाता रोक्का गरिएका समिति बाहेक संस्था दर्ता ऐन अनुसार दर्ता भएका समिति र संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेका सम्पूूूूर्ण यातायात समितिहरुको खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण समेत तयार पार्ने निर्णय गरेको छ ।