मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हेटौंडा अस्पतालबाट सुरु

१७ चैत ०७५, काठमाडौं । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ ।

आइतबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रमको उद्घाटन मकवानपुरको हेटौंडा अस्पतालबाट सुरु गरेका हुन् । विपन्न वर्गका जनताको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।

शहीद परिवार, जनआन्दोलनका घाइते बेपत्ता परिवार र निम्न आयस्तर भएका विपन्न परिवारका मानिसले वडाको सिफारिसमा यो उपचार सेवा पाउने बताइएको छ ।

नसर्ने रोग पहिचानका लागि विभिन्न १६ किसिमका परीक्षण निःशुल्क गरिनेछ । यसवापत लाग्ने २ हजार २ सय रुपैयाँ प्रदेश सरकारले बेहोर्नेछ ।

सरकारले पहिलो पटक मकवानपुर, धादिङ, भक्तपुर, सिन्धुली र सिन्धुपाल्चोक गरी पाँच जिल्लामा यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा ल्याएको छ ।

प्रदेश सरकारले यो आर्थिक वर्षमा १० हजार जनताको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका लागि चालु वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरीसकेको छ ।

तपाइको मत