मुख्यमन्त्रीको अभिव्यक्तिमा जनताको इच्छा र आकांक्षा व्यक्त – आन्तरिक मामिलामन्त्री यादव

३ जेठ ०७५, जनकपुरधाम । प्रदेश नम्बर २ को आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताएका छन् ।

केन्द्र सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले मुख्यमन्त्रीको बचाउ गरेका हुन् ।

‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ । सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नुभएको हो’ मन्त्री यादवले भने, ‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन ।’

बैशाख २८ गते जनकपुरमा भएको भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए ।

मुख्यमन्त्रीले विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भनी प्रदेशसभामा पनि बहस भएपछि मन्त्री यादवले बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

 

 

तपाइको मत