भूकम्प प्रभावित ३२ जिल्लामा पुनः सर्वेक्षण गरिन

१ चैत्र ०७५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा गुनासो कर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने भएको छ ।

प्राधिकरणले चैत १५ गतेदेखि ३२ जिल्लाका हरेक स्थानीय तहमा ईञ्जिनियर परिचालन गरेर स्थलगत लगत संकलन गर्न लागेको हो ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए ।

उनले छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गरिने बताए । यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन हुनेछन् ।

प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्प प्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुलाई ‘प्रशिक्षक प्रशिक्षण’ दिएको छ ।

प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिनेछन् । २०७६ बैशाख मसान्तसम्ममा सर्वेक्षण सक्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

तपाइको मत