१२ असोज ०७५, काठमाडौं । गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपाल (भिटोफ–नेपाल)ले ३ गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।
राजधानीमा आयोजित कार्यक्रमकाबीच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकाससँगै नेपाल समृद्धिततर्फ अगाडि बढने बताए ।
मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितिका अध्यक्ष देबीकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण–पत्र सहित सम्मानित गरेका थिए ।
सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन पबद्र्धनका लागि आवश्यक नीति ल्याउन आग्रह गरे ।
सिम्खडाले राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउँदै कम लगानीमा नै पर्यटन मार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्थर उकास्न सकिने बताए ।