बैशाख १३ मा अपहरणमा परेका स्कुले बालकको पाँच दिनपछि भारतबाट सकुशल उद्दार

१७ बैशाख ०७६, सप्तरी। सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका १२ वर्षीय स्कुले बालक उपहरण मुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटेको टोलीले भारत सीतामढीको शिवहरस्थित एक होटलबाट सप्तरी गाउँपालिका ३ का १२ वर्षीय लक्ष्मण यादव यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।

पत्रकार सम्मेलनमा अपहरित बालक लक्ष्मण यादव ।

राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव गत १३ बैशाखमा टोलमै आफन्तको विवाह भोज खान गएको बेला अपहरणमा परेका थिए ।बालक यादवलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरि परिवारको जिम्मा लगाइएको छ ।

पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले आँखा मुख छोप्दै जबरजस्ती मोटरसाइकलमा राखेर अज्ञात स्थलतर्फ लगेको बालक यादवको भनाई छ ।

केही नेपाली र केही भारतीय अपराधी प्रयोग गरी बालक यादवको फिरौतीका लागि अपहरण गरेको खुलेको र अनुसन्धानका लागि तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । यद्यपि अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधी फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको उपरीक्षक विष्टले बताए ।

अपहरण मुक्त बालक यादवले अपहरणकारीहरुले आफूलाई मुख, खुट्टा बाँधेर राख्ने गरेको तथा खानामा नशालु पदार्थ मिसाएर खुवाउने गरेको सुनाए ।अपहरण मुक्त बालकलाई अपहरणकारीहरुले नशालु पदार्थ खुवाएर राख्ने गरेको र उद्दारको क्रममा उनी अर्धबेहोस अवस्थामा रहेको उपरीक्षक विष्टले बताए ।

अपहरणको भोलिपल्ट अपहरणकारीले बालक यादवको काका बिरेन्द्र यादवलाई मोबाइलमा फोन गरी ‘तिम्रो भतिजो हामीसँग छ, सकुशल चाहिन्छ भने ५० लाख बुझाऊ’ भन्दै फोन काटेका थिए ।

जागिरको सिलसिलामा भारतको मुम्बईमा रहेका बालकका बुबा जागेश्वर यादवलाई पनि अपहरणकारीले फोन गरी ५० लाख रुँपैया फिरौती नदिए छोराको ज्यान मार्ने धम्की दिएका थिए ।

पीडित पक्षबाट बालक हराएको र खोजिदिन आग्रहसहित निवेदन आएपछि सुरुमा हुलिया बिबरणसहितको सूचना सबै प्रहरी कार्यालयमा पठाएका थियौं प्रहरी उपरिक्षक विष्टले भने, ‘तर, फिरौती वापत ५० लाख रुँपैया माग गरेको थाहा पाएपछि चार वटा टोली बनाएर खोजीमा लाग्यौं ।’

फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको लोकेशन सेवा प्रदायक संस्थासँग लिँदै बालक लुकाई राखेको स्थान नजिक पुग्न सफल भएको उनले सुनाए ।

त्यसपछि भारतीय सिआरपी (केन्द्रिय रिजर्भ पुलिस) लाई जानकारी दिँदै उक्त क्षेत्रमा सर्च अपरेशन चलाएपछि आतिएर अपहरणकारीले बालक यादवलाई राजमार्ग नजिकैको एक होटलमा छाडेर भागेको उपरीक्षक विष्टले बताए ।

केही भारतीय अपहराधीहरु नेपाली अपराधीहरुसँग मिलेर नेपालबाट अपहरण भएकालाई भारत र भारतबाट अपहरण गरेकालाई नेपालमा पु¥याएर लुकाई राख्ने र फिरौती असुल गर्ने गरेको बताउँदै प्रहरी उपरिक्षक विष्टले यसबारे दुबै देशका सीमा अधिकारी सचेत भई नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए ।

तपाइको मत