३ बैशाख ०७४, कास्की । नेपाल विद्युत प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्याधिक माग हुने पिक आवरमा करिव ४ घण्टा चलाउने गरी पिक स्टोरेज बनाउने प्रस्ताव अघि सारेका हुन् ।
नेपाल विद्युत प्राधिकरणले गरेको प्रारम्भीक अध्ययनमा बेगनास तालको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने देखाएको छ ।
तामाकोसी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत मागलाई पूरा गर्न नसक्ने भएकाले पिक स्टोरेज निर्माण योजना अगाडि सारिएको प्राधिकरणले बताएको छ ।
घिसिङका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी आयोजना निर्माण गरिने छ । वेगनास तालको सञ्चित पानीलाई त्यहाँको प्राकृतिक हेडलाई प्रयोग गरी रुपा तालमा खसाएर विद्युत उत्पादन गर्न सकिने देखिएको छ ।
घिसिङले भने, ‘रुपामा जम्मा भएको पानीलाई राती (अफ आवर)मा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।’
रुपामा खसालिएको पानी पुनः वेगनासमा फर्काइने हुनाले यसले दुवै तालको अहिलेका अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरण प्रमुख घिसिङको दाबी छ ।