२० पुस ०८०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।
गोरखा चेम्बर अफ कमर्सले गोरखामा आयोजना गरेको कृषि, पर्यटन तथा व्यपार प्रवद्र्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने बताए ।
अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।