३० फागुन ०७५, काठमाडौं । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट हटाएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।
यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट)को बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।