बन्द उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्छ- उद्योग मन्त्री

२४ असार ०७५, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकारको लगानी रहेका बन्द उद्योग पुन: सञ्चालनमा ल्याउने बताएका छन् ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारको लगानीमा रहेका विराटनगर जुट मिल, बुटवल धागो कारखाना, हेटौडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना र गोरखकाली रबर उद्योग पुनःसञ्चालनका लागि आवश्यक योजना अगाडि बढाइएको बताएका हुन् ।

मन्त्री यादवले उत्पादन नबढाएसम्म व्यापार घाटा कम हुन नसक्ने हुँदा बन्द उद्योग सञ्चालन गरी उत्पादन बढाउनेतर्फ सरकारले ध्यान केन्द्रित रहेको बताए । उनले भने – ‘निजीकरण र उदारीकरणको नाममा यी उद्योगहरु धरासायी भए देशको उत्पादन नबढाएसम्म समद्धि हासिल हुँदैन, त्यसका कारण रुग्न उद्योग सञ्चालन गर्न सरकार केन्द्रित बनेको हो ।’

त्यस्तै, मन्त्री यादवले खानी उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक योजना अगाडि बढाइएको बताउँदै नवलपरासी धोबादीको फलाम खानी र जारकोटमा रहेको पेट्रोलियम खानी उत्खननका लागि आवश्यक योजना अगाडि बढेको बताए ।

मन्त्री यादवले स्थानीय उत्पादनलाई वृद्धि गरी समृद्धि हासिल गर्न हस्तकलादेखि स्थानीय उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै हस्तकला प्रर्वद्धनका लागि छुट्टै केन्द्रको स्थापना गरी योजना अगाडि बढाइसकेको पनि जानकारी दिए ।

त्यसैगरी, मन्त्री यादवले सुशासनलाई टेवा दिनका लागि मन्त्रालय तथा मातहतका निकायलाई अनलाइन प्रणलीमा लैजाने तयारी गरिरहेको बताए ।

मन्त्री यादवले १७ दुर्गम जिल्लामा आयोडिनयुक्त नुनको अभाव हुन नदिन यो आर्थिक वर्षमा ६० हजार क्युन्टल नुन ढुवानी गर्ने जानकारी दिए ।

तपाइको मत