२९ जेठ ०७५, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गरेको छ ।
मंगलबार बसेको संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।
जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।
संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।