२ जेठ ०७५,काठमाडौं । खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका छन् ।
मंगलबार खानेपानी मन्त्रालयमा मन्त्री मगरलाई भेटेर मुख्यमन्त्री भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका हुन् ।
प्रधानमन्त्री र संघका मन्त्रीहरूसँग भेटवार्ता गर्न मंगलबार काठमाडौं आएका मुख्यमन्त्री भट्टले मन्त्री मगरलाई भेटेर ७ नम्बर प्रदेशको समग्र विकासका विषयमा समेत छलफल गरेका थिए । भेटवार्तामा ७ नम्बर प्रदेशका सीमा समस्या समाधान, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा समेत छलफल भएको छ ।
विगतका सरकारको प्राथमिकतामा पर्न नसकेको सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशको तीब्र विकासका लागि संघीय सरकारमा मन्त्री मगरले पहल गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए ।
संघीय सरकारले अधिकार बाँडबाँडबारे स्पष्ट कानून बनाउन नसक्दा कर्मचारी परिचालन र बजेट विनियोजनमा समस्या भइरहेको बताउँदै उनले भने – ‘कर्मचारी कानूनी रुपमै प्रदेश मातहत नआउँदा बजेट विनियोजन र कार्यक्रम निर्माणमा समेत अलमल देखिएको छ ।’
संघमा रहने तथा प्रदेश र स्थानीय तहमा जाने बजेट र कार्यक्रमबारे छलफल भइरहेकाले यो विषय चाँडै टुंगिने मन्त्री मगरले बताइन् । ७ नम्बर प्रदेशबाटै संघीय सरकारमा प्रतिनिधित्व गरेकाले प्रदेशको विकासका लागि आवश्यक भूमिका सशक्त रुपमा निर्वाह गर्ने मन्त्री मगरले बताइन् ।
काठमाडौंमा रहँदा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न माग गर्दै प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री भट्टले बताए ।