११ बैशाख ०७५, जनकपुर । प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ ।
प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको हो ।
प्रस्ताव अनुसार वीरगञ्ज महानगरका मेयरले ४३ हजार ५०० तलव पाउनेछन् भने उपमेयरले ४१ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २८ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ ।
नगरपालिकाका मेयरलाई ३५ हजार, उपमेयरलाई ३१ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २२ हजार र सभा सदस्यलाई ७ हजार तलव तोकिएको छ ।
उपमहानगरका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार तलब तोकिएको छ । यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २५ हजार र सभा सदस्यलाई ७ हजार मासिक सुविधा तोकिएको छ । भ्रमण भत्ता पनि तोकिएको छ ।
गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५ सय तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ भने उपाध्यक्षलाई मासिक २७ हजार ५ सय, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समान २० हजार र सभाका सदस्यलाई ७ हजार तलव तोकिएको छ ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुखले ४४ हजार, उपप्रमुखले ४२ हजार मासिक तलब पाउनेछन् ।