१३ असार ०७५, बुटवल । प्रदेश ५ को प्रदेशसभाको बैठक प्रतिपक्ष बिना नै चलेको छ ।
प्रतिपक्षी प्रदेश सभा बैठकमा उपस्थित नभएपनि बुधबारको बैठकमा सत्ता पक्षका १८ जनाले विनियोजन विधेयक माथिको छलफलमा सहभागी भएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले बजेट समावेशी नभएको र केही बजेट एउटै शीर्षकमा पोका बनाएर राखेको, मुख्य मन्त्री, मन्त्री र पहुँचवाला सभासदहरुको क्षेत्रमा धेरै बजेट पारिएको भन्दै असहमति जनाउँदै आएका छन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने संसदीय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै सत्तापक्षले बहुमतको दम्भमा बैठक सञ्चालन गर्न खोजेकोले प्रतिपक्षीको कुरा नसुने संसद र सडक दुवैमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले पटक पटक बजेट समावेशी र कांग्रेसले शंका गरेको केही पोका बजेटको विषयमा स्पष्ट पार्न आग्रह गर्दा समेत मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्न चासो नदिएको बताए ।