प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा आन्दोलनमा उत्रियो

१० पुस ०७७, काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै सोकोविरुद्ध नेकपा (प्रचण्ड–माधव) पक्ष आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार शीर्ष नेता, संघीय सांसदसहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिए भने त्यसपछि नाराबाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका थिए ।

माइतीघरमा भेला भएका उनीहरु सर्वोच्च अदालतको गेट अगाडिबाट भद्रकाली, न्युरोड हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालको नेतृत्वमा संघीय सांसद, केन्द्रीय सदस्यहरुले कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयको मुख्य गेट अगाडि सडकमै बसेर बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘नेकपा जिन्दावाद, असंवैधानिक ‘कु’ खारेज गर ! बयलगाडा चढेर अमेरिका जा ! गणतन्त्रविरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नाराहरु लगाएका थिए ।

प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमा हाल ४३६ मध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ ।