पूर्वराज्यमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैद

१४ चैत ०७५, काठमाडौं । जनकपुर बम विस्फोटमा पूर्वराज्यमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए । ती मुद्दाहरुमा फैसला गर्दै अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय तोकेको हो ।

जन्मकैदको सजाय पाउनेमा मुकेशकुमार चौधरी, राजन मुक्ति भन्ने रन्जित साह, ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झा हुन् । सुनिलकुमार पाण्डेले भने सफाइ पाएका छन् । प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव भने फरार छन् ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चोकमा धर्ना दिएका बेला बम विस्फोट भएको थियो । धर्ना स्थलमै भएको विस्फोटमा रंङ्गकर्मी रञ्जु झा, मैथिलीकर्मी झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।

तपाइको मत