परिमार्जित प्रस्ताव नआए निर्वाचन बिथोल्ने मोर्चाको धम्की

१७ मंसिर, काठमाडौं । मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्दै मोर्चाले आफूलाई स्वीकार्य हुने परिमार्जित प्रस्ताव नआए स्थानीय निकायको निर्वाचन बिथोल्ने धम्कीसमेत मोर्चाले दिएको छ ।

मधेसी मोर्चाले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनसँगको बालुवाटार बैठकमा संशोधन विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्वीकार गर्न नसक्ने सामूहिक निर्णय सुनाए ।

प्रधानमन्त्री प्रचण्डले मोर्चासँगको सहमतिबाटै संशोधन विधेयक ल्याएको बताउँदै आएका भए पनि मोर्चाको यो निर्णयले एकातिर मुलुकलाई राजनीतिक संकटमा धकेल्ने खतरा उत्पन्न भएको छ भने अर्कोतिर विरोधमा उभिएको एमालेलाई सहयोग पुगेको छ ।

बैठकमा मोर्चाका नेताहरूले झन्डै सात महिना लामो बलिदानपूर्ण संघर्षको उपलब्धिविपरीत आएको संशोधन प्रस्तावलाई सरकारले पूर्ण रूपमा परिमार्जन गर्दै संसद्बाट पारित नगरेसम्म स्थानीय निर्वाचन हुन नसक्ने बताएका थिए । साथै उनीहरुले मधेसी आन्दोलनको मर्म र भावनाविपरीत आएको संशोधन प्रस्ताव परिमार्जन नगरी हुने कुनै पनि निर्वाचन बिथोल्ने बताए ।

तपाइको मत